१८ बैशाख २०८१, मंगलवार

भारतबाट अवैध भित्राइएको १५९ बोरा धानको बिउ नष्ट, पाँच एग्रोभेटलाई कारबाही

dhan nasta 1024x683 1

चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आज (आइतबार) खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनले भारतबाट अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको १५९ बोरा ४ केजी बिउ जेठ ४ गते नारायणगढ र नवलपुरबाट नियन्त्रणमा लिइएको थियो।

३३ केजी नमूनाको रुपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताए। भारतीय उत्पादनकारुपमा रहेका यो जातको धानको बिउलाई गत वर्षमात्रै राष्ट्रिय बिउविजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो। बिराटनगरको कोशी अग्र्यानिक मलले स्वस्तिका ट्रान्सपोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो। उक्त ट्रान्सपोर्टको चितवन शाखामा छापामार्दा ५० बोरा बीउ भेटेपछि खोज्दै जाँदा नवलपुरको रजहरबाट थप १०९ बोरा बीउसहितको ट्रक समातिएको थियो।

चितवनमा साझा एग्रोभेट सेवा टाँडीले २०, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृतचोक, एभरेष्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रसान्त एग्रोभेट खुरखुरेले १०/१० किलो बिउ मगाएका थिए।

१०९ बोरा बिउ रुपन्देही र दाङका लागि थिए। बिउ मगाउने चितवनका एग्रोभेटहरुलाई १०/१० हजार रुपैयाँ जरिबाना लगाइएको छ। उनीहरुलाई आइन्दा पुनस् सोही काम दोहोर्‍याए थप कारबाही गर्ने चेताबनी दिइएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए। अन्य जिल्लाको हकमा सम्बन्धित कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए।