१८ बैशाख २०८१, मंगलवार

तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दै, ४ किलोमिटर ट्र्याक खुल्न बाँकी

1611501502 S9NL8

तमोर कारिडरले छिमेकी दुई देश चीन र भारतलाई जोड्ने छ । यस करिडोरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताउनुभयो । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । अब कडा पहाड खोल्नु पर्ने धेरै कार्य नभएको कम्पनीका प्रतिनिधि लामिछानेले बताउनुभयो ।

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनीयर पौडेलले बताउनुभयो । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म ४ किलोमिटर दूरी ट्र्याक खुल्न बाँकी रहेको हो ।

सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इलाडाँडामा क्षेत्रमा पुगेर रोकिएको हो । तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडले बताउनुभयो ।

चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडकखण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण शुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।

    सम्बन्धित समाचार...