१८ बैशाख २०८१, मंगलवार

विप्लव र रेखा थापाको भेटमा व्यक्तिगत कुराकानी

Biplav and Rekha

अभिनेत्री रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेकी छन् । केही दिनअघि मात्रै सार्वजनिक भएका नेत्रविक्रम चन्द विप्लव र नायिका रेखा थापाबीच भेट भएको हो ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादल, मोहन बैद्य, सिपी गजुरेल, ऋषि कट्टेल, आहुतिसँग भेटवार्ता गरेको विप्लवले आज रेखा थापासँग भेट गरेका हुन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछी सरकारी कदमको विरोध गर्दै आएकी रेखाले आइतबार विप्लवसँग भेट गरेकी हुन् ।

थापा र विप्लवको भेटको आधिकारिक पुष्टि नभएपनि उनीहरु भेट गरेको तस्वीर बाहिरिएको छ। शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो बढेको छ ।

उनीहरुबीच के कुराकानी भयो ? भनेर खुलाईएको छैन् । तर, नायिका थापाले उक्त भेटमा राजनीतिक भन्दापनि व्यक्तिगत कुराकानी भएको प्रतिक्रिया दिएकी छिन् । यतिवेला विप्लव पार्टीकै काममा कपिलवस्तुमा छन् । सरकार र विप्लव समूहको नेकपाबीच तीन बुँदे सहमति भएपछि विप्लव हालै सार्वजनिक भएका हुन् ।

विभिन्न टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहेर्न आग्रह गरेकी छन् ।

उनले ‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेकाले त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेट गरेको बताइन् ।

    सम्बन्धित समाचार...