१८ बैशाख २०८१, मंगलवार

जग्गा दर्ता हुने आशामा स्थानीयवासी

Sukumbasi

तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आउनुभएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी हुनुहुन्छ । उहाँले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिनुभयो । अहिलेसम्म धनीपुर्जा बन्न सकेको छैन ।

पछिल्लो पटक भूमिसम्बन्धी समस्या समाधान आयोग र नगरपालिका कार्यालयको संयुक्त पहलमा ऐलानी तथा पर्ति जग्गामा बसेका अव्यवस्थित बसोवासीको लगत सङ्कलन कार्य भइरहँदा भने धनीपुर्जा पाउने आशा उहाँमा जागेको हो । “तीस वर्षदेखि बसेका छौँ, कुनै सरकारले चासो लिएन”, उहाँले भन्नुभयो, “स्थानीय निकायबाट लगत सङ्कलनको काम भइरहकोले अहिलेको भूमि आयोगले भने धनीपुर्जा दिने विश्वास भने जागेको छ ।”

स्थानीयवासी मीनबहादुर कुँवर अहिले स्थानीय सरकारलाई अधिकार दिइएकोे अवस्थामा दशकौँदेखि ऐलानी जग्गामा बसोबास गरेका परिवारमा आफ्नो भोगचलनको आधारमा जग्गाको धनीपुर्जा पाउने विश्वास जागेको बताउनुहुन्छ । “शहरी क्षेत्रमा रहेका नगर विकास समितिले अहिलेसम्म बजार आसपासको ऐलानी जग्गा दर्ता गर्ने गरेर कमाइ गर्ने माध्यम मात्र बनाए”, उहाँले भन्नुभयो, “शहरी क्षेत्रकै ग्रामीण वडालगायतका बस्तीमा पुर्जा दिने पहल नहुँदा बसोबास गर्दै आएकाहरु जग्गा दर्ता हुनबाट वञ्चित हुनुपरेको अवस्था छ ।”

बाइस वर्षअघि धनगढीको फूलबारीमा एक कट्ठा ऐलानी जग्गामा बसोबास गरिरहनु भएका फूलराम चौधरीको जग्गा अर्कै व्यक्तिको नाममा परेपछि उहाँ अन्योलमा हुनुहुन्छ । तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको टोलीले फूलरामले खरिद गरेर भोगचलन गर्दै आएको जग्गा कित्ताकाट गरेर अर्कै व्यक्तिको नाममा परेको जानकारी भएपछि उहाँ अहिले अन्योलमा पर्नुभएको हो ।

“रु ८० हजारमा त्यतिबेला जग्गा किन्दा तमसुक लेखिएको थियो”, उहाँले भन्नुभयो, “आफूलाई जग्गा बेच्नेलाई अरू ठाउँमा भए पनि जग्गा दिन आग्रह गरेको छु, उहाँले जग्गा दिन नमानेमा आफू समस्यामा पर्छु ।” वास्तविक भूमिहीनलाई जग्गा खोजेर बसोबास गराउने र ऐलानी तथा पर्ति जग्गामा बसेकालाई उनीहरुले चर्चेको जग्गाको पुर्जा दिन सकेमा मात्र घरघरमा सिंहदरबार आएको अनुभूति हुने कतिपयको भनाइ छ ।

राजश्व जुटाउने चिन्ता

ऐलानी जग्गामा वर्षौदेखि बसोबास गरिरहेकाहरु जग्गा दर्ता हुनेमा खुशी देखिए पनि दर्ता गर्दा लिइने राजश्व रकम कसरी जुटाउने भन्ने चिन्तामा छन् । जग्गाको मूल्याङ्कनका आधारमा राजश्व रकम लिने मापदण्ड बनाइएको छ ।

“मूल्याङ्कनको आठ देखि २०० प्रतिशतसम्म राजश्व रकम लिएर जग्गा दर्ता गरिदिने कुरा सुुनिएको छ”, स्थानीय रामबहादुर चौधरीले भन्नुभयो, “यति धेरै राजश्व रकम जुटाउन नसक्ने ग्रामीण बस्तीका बासिन्दाले चिन्ता व्यक्त गरिरहेका छन् ।” गरिबीका कारण नम्बरी जग्गा खरिद गर्न नसकेर ऐलानीमा बस्दै आएकालाई पुर्जा दिने नाममा आयोगले कमाउने माध्यम बनाउन नहुने चौधरी बताउनुहुन्छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि रातो रङ्गको र अव्यवस्थित बसोवासीका लागि सेतो रङ्गको फाराम भर्न लगाएर लगत सङ्कलनको काम भइरहेको छ । लगत सङ्कलन गर्न उपमहानगरपालिकामा स्थापना भएको एकाइ कार्यालयका प्रमुख बागेश्वरदत्त ओझाले ३५दिने सूचना प्रकाशित गरी लगत सङ्कलन कार्य भइरहेको बताउनुभयो ।

“बनाइएको कार्यविधिअनुसार आउने असार महिनाभित्रै नापनक्सा गरिसक्नु पर्ने भन्ने छ”, ओझाले भन्नुभयो, “लगत सङ्कलन र नापनक्सा भइसकेपछि यसको प्रविष्टि तयार पारेर केन्द्रमा पठाउन भनिएको छ ।” आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पालिकाहरुसँग सम्झौता गरिरहेको जनाइएको छ । स्थानीय पालिकाका प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति गठनको व्यवस्था गरिएको छ ।

कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी ठूलो सङ्ख्यामा छन् । ऐलानी जग्गामा बसेको दशकौँ भए पनि उसको नाममा जग्गा दर्ता हुन सकेको छैन । यस्तो जग्गामा बसोबास गर्ने परिवारलाई बिजुली, पानी, सडकलगायतको सेवा सुविधा भने सरकारी निकायबाट उपलब्ध भइरहेको छ ।