जीवन रक्षा गर्न आग्रह
जवाफदेहिता निगरानी समितिले आफ्नो छोराको न्यायका लागि अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईँले जारी गरेको प्रेस विज्ञप्तिमा गङ्गामायाको स्वास्थ्य नाजुक बन्दै गएकाले जीवनरक्षा गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरेको उल्लेख छ ।
“गङ्गामायाको न्यायको सङ्घर्ष र स्वास्थ्यको अवस्था राष्ट्रिय सरोकार मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि हो”, विज्ञप्तिमा भनिएको छ, “नागरिकको न्यायमाथि विश्वास मर्न नदिन तथा यस संवेदनशील विषयमा कुनै बहाना वा आलटाल नगरी उहाँको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन जरुरी छ ।”
आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनशनमा बसिरहेकी अधिकारीको स्वास्थावस्था नाजुक भन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।