fbpx
६ बैशाख २०७८, सोमबार

अनशनरत अधिकारीको जीवन रक्षाको माग

फाइल फोटो

मानव अधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत हुनुहुन्छ । उहाँको जीवन रक्षाको लागि मानव अधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन गरी अपिल गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा डा कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण सङ्घर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गर्नुभयो । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन सङ्कटमा भएको बताउनुभयो । न्यायका लागि मानव अधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ’ भन्नुभयो ।