६ जेष्ठ २०८१, आईतवार

प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

Dormani poudel
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताउनुभएको छ ।

ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उहाँले गर्नुहुँदै वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राख्नुभयो । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा निरन्तर लाग्न अनुरोध गर्नुभयो ।

तीन दिनदेखि हराएका सुवेदी मृत फेला

तीन दिनदेखि हराउनुभएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको थियो । सञ्चारमाध्यममा मृतावस्थामा फेला परेको फोटोसहित समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेका थिए । परिवार सम्पर्कमा आएपछि शवको सनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । हाल शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।