२२ बैशाख २०८२, सोमबार

घुससहित सहायक वन अधिकृत समेत ६ जना पक्राउ

Bribe under the table
सांकेतिक तस्विर

सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीबाट १७ हजार रुपैयाँ घूस लिइरहेको अवस्था उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको हो । सव–डिभिजन वन कार्यालय मैनामैनीका प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहितले सेवाग्राहीसँग घूस माग गरेको उजूरी परेको थियो ।

यादवसमेतले सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत विनोदकुमार साह, फरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनीका फरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत छन् ।

वन कर्मचारीले सप्तकोसी नदीले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैयाँ घूस लिएको आरोप छ ।

प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा बुझाएका ती कर्मचारीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।