१८ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर छैन : प्रेस सल्लाहकार सूर्य थापा

global watch analysis

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको ‘ग्लोबल वाच एनाइसिस’ रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताएका छन् ।उक्त समाचार गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।

ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।

थापाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’

पोस्टमा ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको उल्लेख छ।

उनले भनेका छन् –‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ ।’

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गरेका बेला प्रधानमन्त्रीको बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्न अनेकन तत्त्वहरू सक्रिय रहेको उनको दावी छ ।

उनले यस्ता दुष्प्रचारको भ्रममा नपर्न आग्रह गर्दै त्यस्ता कार्यमा संलग्नको कारवाहीको माग गरेका छन् । उनले भनेका छन्–‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

केही दिनयता अनलाइन समाचार साइटहरुमा ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै प्रधानमन्त्री ओलीको स्वीस बैंकमा साढे ५ मिलियन अमेरिकी डलर रहेको समाचार प्रकाशन हुँदै आएको छ ।