१९ बैशाख २०८२, शुक्रबार

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक, बाबुराम भट्टराई सहभागी नहुने

kp sharma oli pm
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने परामर्श बैठकमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरु र परराष्ट्र मन्त्रालयसँग छलफल हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यता, प्रधानमन्त्री ओलीले बोलाएको परामर्श बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराई सहभागी नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले आफू गृहजिल्ला गोरखा जाने कार्यक्रम रहेकाले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।

डा.भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीलाई नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

त्यस्तै, दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र​ भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल गर्न आग्रह गर्दै डा.भट्टराईले चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा जोड दिदै हाम्रो कमजोर अर्थतन्त्रलाई विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन्।