
सरकारले भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोल्ने स्पष्ट पारेको छ ।
आइतबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भेट गर्दै सञ्चार तथा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी दिए ।
डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताए ।
‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ । उनीहरु नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेको भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्न मिडियाले सुहाउँदैन’, उनले भने, ‘भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’
उनले नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको बताए ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले असार २५ गते भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए ।
नेपालविरुद्ध अफवाह फैलाउने ४ भारतीय च्यानल बन्द
नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् ।
भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो ।
मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।
पछिल्लो समय भारतीय मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको भेटघाटलाई अतिरञ्जित बनाइ सामाग्रीहरु प्रशारण गरिरहेका छन् ।
नेपालले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै भारतीय मिडियाहरुले नेपालले चीनको इशारामा भारतविरुद्ध कदम उठाएको लगाएत आरोप लगाइरहेको छ ।