२० बैशाख २०८२, शनिबार

ऊर्जामन्त्री खड्काको होटल उद्‍घाटन गर्न प्रधानमन्त्री र देउवासहित नेताहरुको लर्को

sayukta

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज बुधबार उद्घाटन गरेका छन् ।

मन्त्री खड्काको निम्तोमा होटलको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली, सभापति देउवा, पर्यटनमन्त्री बद्री पाण्डेसहित नेपाली कांग्रेसका अधिकांश नेता पुगेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए ।

उनले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुनेगरी काम गर्नुपर्ने भन्दै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उनको भनाइ थियो ।प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अध्याँरा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरेको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताए । उनले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताए।

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताए ।

अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा रु तीन अर्ब ५७ करोडको लगानीमा १०४ कोठाको सो रिसोर्ट निर्माण भएको जानकारी दिइन् ।

    सम्बन्धित समाचार...