११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि
धनुषामा ११ वर्षीया बालिकाको हत्या आरोपमा एक जना भारतीय नागरिक पक्राउ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
गत बुधबार आँप बगैंचामा भैसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका–१९ कुर्था बस्ने ११ वर्षीया बालिका कञ्चनकुमारी परियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चायत बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।
विगत पाँच महिनादेखि सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा काम गर्दै आएका सिंहले गत असार १८ गते बलात्कार गरी निर्मम हत्या गरेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन् ।
आँपको प्रलोभन देखाएर करणी
सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए । उनी काम गर्ने इन्डष्ट्रिजमा बालिका गत असार १८ गते आँप टिप्न पुगेकी थिइन् ।
बालिकालाई इन्डष्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर करणी गरेका थिए । बलात्कारपछि उनले बालिकालाई मुख थुनेर हत्या गरेका थिए ।
सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डष्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर बालिकासँग करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्यापछि सिंहले बालिकालाई ब्ल्यांकेटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्यांकेट ५० फिटको दूरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाइ आइतबार पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
उनले पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।