१८ बैशाख २०८१, मंगलवार

नेपालले जित्याे मलेसियाविरुद्धको सिरिज

350477441 650770323538844 4804630213018715827 n

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज (आइतबार) मलेसियाविरुद्ध सिरिज ३-२ ले जितेको छ । निर्णायक तथा पाँचौं खेलमा नेपाल ३ विकेटले विजयी भएको हो ।

यूकेएम क्रिकेट ओभलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनायो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रन जोडिन् । विनफ्रिद दुराइसिंगमले २४, माहिरा इस्माइलले २० रन थपिन् ।

यसपटक नेपालको फिल्डिङ गतिलो हुन सकेन । कविता जोशीले दुई विकेट हात पारिन् । ईश्वरी विष्टको नाममा एक विकेट रह्‌यो । नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्यो । कविता कुँवर ४ र इन्दु बर्मा ५ रनमा आउट भए । सम्झना खड्का डकआउट हुँदा नेपाल ३४ रन मात्र जोडेको थियो । चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्री र सीता रानामगरले २६ रनको साझेदारी गरे ।

सीताले ३४ रन जोडिन् । त्यसपछि क्रिजका आएकी विन्दु रावलले ५ रन मात्र हानिन् । रुविना २३ रनमा आउट भइन् । कविता जोशी ५ रनमा आउट हुँदा नेपालको स्कोर ९१ रन मात्र थियो । आठौं विकेटका लागि ज्योति पाण्डे र अप्सरी बेगमबीच भएको १९ रनको साझेदारीले नेपाललाई जित दिलायो ।

अप्सरी १५ र ज्योति ११ रनमा अविजित रहे । यसअघि पहिलो खेलमा नेपाल ५ विकेटले पराजित हुँदा दोस्रो खेल ७ विकेटले जितेको थियो । तेस्रो खेलमा २७ रनको जित निकाले पनि नेपाल चौथो खेलमा मलेसियाले ४ विकेटको जित निकालेपछि खेल पाँचौं खेलसम्म धकेलिएको थियो ।

एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपालले पाँच खेलको टी-ट्वान्टी सिरिज आफ्नो पोल्टामा पारेको हो ।

    सम्बन्धित समाचार...