
इन्डियन प्रिमियर लिग (आईपीएल) मा हाइस्कोरिङ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि ४ विकेटको जित दर्ता गरेको छ ।
जयपुरस्थित सवाइमानसिहं स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१४ रनको ठूलो योगफल बनाएको थियो ।
राम्रो सुरुवात गरेको राजस्थानका ओपनरद्वय यसस्वी जैसवाल र जोस बट्लरले ५० रनको साझेदारी गरे । बट्लरले सर्वाधिक ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । कप्तान सन्जु सामशन ६६ रनमा अविजित रहे । जैशवालले ३५ रन जोडे ।
जवाफमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अभिषेक बर्माले ५५, राहुल त्रिपाठीले ४७ तथा अनमोलप्रित सिंहले ३३ रन जोडे ।
एक समय लगभग नतिजा सुम्पिने अवस्थामा रहेको हैदराबादका लागि ग्लोन फिलिप्सले सात बलमा २५ रनको विस्फोटक पारी खेले । उनले १ चौका र ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । जसमा अब्दुल सामादले सन्दीप शर्मालाई १८ रन प्रहार गरे । अन्तिम बलमा छक्का प्रहार गर्दै उनले जित सुनिश्चित बनाएका थिए ।