१८ बैशाख २०८१, मंगलवार

दक्षिण-उत्तर कोरिया तनाव : उत्तर कोरियाले ध्वस्त पारिदियो सीमानजिकैको सम्पर्क कार्यालय

kim

पछिल्लो समय कोरियाली प्रायद्वीपमा तनाव चुलिँदै गएको छ। केही दिनयता निरन्तर धम्की दिँदै आएको उत्तर कोरियाले मंगलबार सीमावर्ती सहरमा रहेको दुई कोरियाबीचको सम्पर्क कार्यालय ध्वस्त पारिदिएको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाको एकता मन्त्रालयका अनुसार मंगलबार दिउँसो स्थानीय समयअनुसार २:४९ बजे उत्तर कोरियाले केसङ सहरमा रहेको उक्त कार्यालयमा बिस्फोट गरेको हो।

यसअघि सैनिक स्रोतले सीमावर्ती सहरमा ठूलो विस्फोटको आवाज र धुँवाको मुस्लो देखिएको बताएको थियो।

यो विस्फोट उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो-जङले उत्तर-दक्षिण कोरियाको काम नलाग्ने सम्पर्क कार्यालय ध्वस्त भएको छिट्टै देखिने बताएको तीन दिनपछि भएको हो।

भगौडाहरूले पातमा विभिन्न कुरा लेखेर बेलुनबाट उत्तरतिर पठाइरहेको कुरा दक्षिण कोरियाले नरोकेको भन्दै प्योङयाङ पछिल्लो समय सउलसँग आक्रोशित छ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर वार्ता भएपछि दुई देशबीच सहयोग आदान-प्रदान गर्न सेप्टेम्बर २०१८मा सम्पर्क कार्यालय खोलिएको थियो।

गत जनवरीदेखि कोरोनाभाइरसको महामारीका कारण दुबै कोरियाले उक्त कार्यालयको काम बन्द गरेका थिए।

गत साता उत्तर कोरियाले दक्षिण आफ्नो शत्रु भएको भन्दै उसँगका सबै सञ्चार सम्पर्क विच्छेद गर्ने बताएको थियो। एजेन्सी