२३ बैशाख २०८२, मंगलवार

वैशाखमै अत्यधिक गर्मी: काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ८ डिग्री

Weather Tempreature tapkram tato garmi

हिउँद र प्रि-मनसुनमा समेत राम्ररी पानी नपरेपछि पछिल्लो सातादेखि नेपालमा अत्यधिक गर्मी बढेको छ । अधिकतम २५ डिग्रीभन्दा माथिको अवस्थालाई मौसम विभागले गर्मीको अवस्था मान्ने गर्छ ।

पछिल्लो चौबीस घण्टामा जिरी, लुम्ले, जोमसोम र जुम्लाबाहेकका अधिकांश स्थानमा अधिकतम तापक्रम २५ डिग्रीभन्दा बढी पुगेको विभागले जनाएको छ । नेपालगन्जमा ४० दशमलव ५, भैरहवामा ४२ दशमलव २, सिमरामा ४० दशमलव ३, र जनकपुरमा ४० दशमलव २ डिग्री अधिकतम तापक्रम मापन गरिएको छ । हिजो (मंगलबार) ३२ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको अधिकतम तापक्रम आज ३२ दशमलव ८ डिग्री पुगेको छ ।

महाशाखाले यो स्थिति आगामी तीन दिनसम्मै रहने जनाएको छ। यद्यपि भोलि (बिहीबार) राति वाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागका मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।

नेपालमा मे र जुन महिनामा अत्यधिक गर्मी हुने गरेको छ । तर केही वर्षदेखि अप्रिलमा पनि अधिकतम तापक्रम उच्च हुने गरेको मौसमविज्ञले जनाएका छन् । डढेलो तथा प्रदूषणका कारण पनि तापक्रम बढिरहेको हो ।

    सम्बन्धित समाचार...