
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको चार दलको बैठक कुनै सहमति नभई सकिएको छ । तीन दिनदेखि निरन्तर छलफलमा जुटेका यी चार दलहरूको निर्णायक भनिएको यो बैठक अहिले कुनै टुंगोमा पुग्न सकेन ।
सहमतिमा राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउने भन्दै बिहान साढे ८ बजे बसेको बैठक आजै बेलुका ५ बजे पुनः बस्ने गरी स्थगित भएको छ । त्यसभन्दा अगाडि राष्ट्रपतिको उम्मेदवारीबारे चारै दलले आन्तरिक रूपमा छलफल गर्ने पनि बताइएको छ ।
बैठकमा एकीकृत समाजवादीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको थियो भने र नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सारेको हो । सोही विषयमा सहमति जुट्न नसक्दा बैठक बेलुका ५ बजे फेरि बस्ने गरी स्थगित भएको हो ।
सहमतिमा राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएका थिए ।