
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री दाहालले बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।
ओली निवास बालकोटमा जारी भेटवार्तामा समसामयिक विषयका साथै राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने बताउँदै आएको छ । प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने पक्षमा छन् ।
जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको कतिपयको विश्लेषण छ ।
प्रधानमन्त्रीलाई फकाएर एमाले राष्ट्रपति हात पार्ने रणनीतिमा रहेको छ । यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दाबी रहने बताउँदै आएको छ ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसले आफ्नो दलबाट राष्ट्रपति बनाउन चाहिरहेको छ ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ भने नयाँ राष्ट्रपति चयनका लागि २५ फागुनमा निर्वाचन हुँदै छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगमी बढ्दै गएको छ ।