१८ बैशाख २०८१, मंगलवार

अपहरणपछि युवाको हत्यामा संलग्न २ नेपाली र तीन भारतीय पक्राउ

Dhanusha police Office

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । नेपालबाट घटनामा संलग्न भएको आशंकामा दुई नेपाली र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको क्षेत्रीले जनाए ।

१३ दिन अघिदेखि सम्पर्कविहीन भएका जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख रुपैयाँ मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहको भनाइ छ । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

‘शंकास्पद व्यक्ति दुई जनालाई नियन्त्रणमा लिएका छौं । इन्डिया प्रहरीले पनि तीनजना नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुईवटा शव ल्याइएको खबर आएको थियो,’ प्रहरी नायब उपरीक्षक क्षेत्री भन्छन्, ‘दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौं । संलग्न भएको आशंकामा किसानकुमार पण्डित र मुकेस पाशवान नियन्त्रणमा हुनुहुन्छ । केही व्यक्ति अझ फरार भएको भन्ने छ । खोजी जारी छ । शव गाडिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’

क्षेत्रीका अनुसार भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

    सम्बन्धित समाचार...