
मानिसले सबै भन्दा सुरक्षित ठानेको ठाउँ भनेको उसको घर हो । आपतविपत पर्दा आड भरोसा दिने र संरक्षण दिने भनेका बुबा आमा हुन् । दाजुभाइ दिदीबहिनीहरू हुन । आफन्त नातागोता र छिमेकीहरू हुन् । उसको समाज हो । मान्छेको प्रिय ठाउँ कुन हो ? भन्दा उ जन्मिएको घर र गाउँ हो । उसले बाल्यकाल बिताएको र हुर्किएको ठाउँ हो । मेलापात, उकाली, ओराली, खोलानाला, पोखरी, तलाउ, चौर,बनजंगल, बस्तु चराएका ठाउँ, हिँडेका, डुलेका, खेलेका, शिक्षादीक्षा आर्जन गरेका प्रिय ठाउँहरू हुन् ।
सितिमिति उसले आफ्ना ती प्रिय ठाउँहरूलाई छोड्न चाहँदैन । जस्तो एउटा बच्चाले खेल्दै गरेको खेलौना खोसिदिँदा उसले त्यसलाई असहनीय पिडाका रूपमा लिन्छ । बालकले त क्षणमै त्यो कुरा बिर्सन्छ । तर ठुला मानिसहरूलाई भने बिर्सन महाभारत नै पर्दछ । बिर्सौँ भन्दा पनि तन्द्रा बनेर पलपलमा सताउँछ । हो मानिसहरूले थातथलो छोड्ने कारण र परिस्थिति भने फरक फरक होलान् । सन्तानलाई राम्रो शिक्षादीक्षाको खोजीमा जन्मस्थान छोड्न सक्छन् । औषधी उपचार गर्नका लागि बाध्य भएर नयाँ ठाउँमा सर्न सक्छन् । प्राण भन्दा प्यारा सन्तानहरूलाई खान लाउन दिन नसकेर विवशताका साथ अर्को ठाउँमा सर्छन् । सामाजिक सुरक्षा नपाएर, अन्यायमा परेर ,अत्याचारबाट मुक्त भएर बाँच्नका लागि छोड्छन् ।

अवहेलित बन्नु पर्दा इज्जत र प्रतिष्ठा जोगाउनका लागि मान्छे बसाइँ सर्छन् । धार्मिक अल्पसङ्ख्यक र आस्थाका कारण बसाई सर्छन् । राजनैतिक बिचार र बिभेदकाकारण पनि बाध्य भएर अर्को ठाउँमा सर्छन् । जातीय, क्षेत्रीय, नश्लिय, विभेदबाट बाँच्नका लागि पनि मानिसहरू जन्मथलो छोड्छन् । प्राकृतिक प्रकोप बाढी पहिरो, आगलागी, भूकम्प, महामारी, जङ्गली जनावर आदिका कारणले पनि मानिसले थाक थलो छोडेर विस्थापित बन्नु पर्दछ । मानिसहरू रोजगारी र जीविको पार्जन जस्ता अवसरका खोजीमा पनि सरेका हुन्छन् ।
यी बसाई सराइहरू भने खास गरेर आफ्नै मुलुक भित्रै हुने गर्दछन् । जस्तो अधिकांश हिमाली र पहाडी भागका मान्छेहरू उपरोक्त कारणहरूले तराई तर्फ र सदरमुकाम तर्फ सरेको पाइन्छ । रोजगारी र शिक्षाका लागि अधिक मानिसहरू सहरमा होमिएको पाइन्छ । नेपालका विभिन्न भूभागबाट छेमेकी मुलुकहरूमा पनि बसाइसराई भएको पाइन्छ । धरै वर्ष अगाडि देखि नेपालीहरू भारतका विभिन्न राज्यहरूमा पुगेर बसोबास गरेका छन् । भुटान, बर्मा, थाइलेण्ड, जस्ता देशहरूमा पनि पुगेर बसोबास गरी रहेका छन् । माथि उल्लेखित कारणहरू भन्दा पृथक् रूपमा भुटानमा नेपालीहरू पुगेको पनि पाइएको छ । खास गरेर अङ्ग्रेज र भुटानको युद्ध पस्चात बि.सं १८९१ मा भुटानका राजाले दार्जिलिङबाट समुदायका चर्चित व्यक्ति लक्ष्मीदास प्रधानलाई नेपाल सरकारसँग माग गर्यो । उनलाई वार्षिक बिस हजार रूपैया दिने सर्तमा लगेको थियो । त्यस पछि नेपाल सरकारसँग सम्झौता हुँदै नेपालीहरू भुटानमा गएर बसोबास गर्न थाले । अन्य नेपालीहरू २००७ को प्रजातन्त्र आयो भन्दै एक प्रकारको जातीय दंगा सुरु हुँदा पूर्वाञ्चलबाट थुप्रै मानिसहरू ज्यान जोगाउन भाग्दै भुटान पुगेर बसोबास गर्न थालेको पाइन्छ ।
नेपालमा २०४६सालको परिवर्तन पछि धेरै नेपालीहरूले अन्य मुलुकको बारेमा जान र जान्नका लागि सहज भयो । लामो समय देखि सङ्घर्षरत राजनैतिक पार्टीहरू सत्तामा पुगे । सत्तामा पुगेका दलहरू सँग राज्य सञ्चालनको अनुभव पनि थिएन । र सत्ता सञ्चालनका लागि आफैँमा तँछाडमछाडका होडहरू चले । सत्तामा पुगेका राजनैतिक दलको अदूरदर्शिताको कारण देशमा भएको उद्योगधन्दा, कलकारखानाहरूलाई बिक्री गर्ने , निजीकरण गर्ने र बन्द गर्ने कार्यहरू भए । शिक्षामा निजीकरणको सुरुवात अधिक रूपमा भयो । सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरूलाई राजनैतिक पार्टीको भातृसंगठनका सदस्य बनाइयो । र जागिर खाने थलोका रूपमा मात्र विकाश गरियो । गुणस्तरीय रोजगारमूलक शिक्षाको अभावमा शैक्षिक बेरोजगारीहरूको ठुलो जमात सृजना भयो । राजनैतिक पार्टीहरूका आडमा ठूलाठूला भ्रष्टाचारहरू भए । कति पय सडक, पुल, भवन, एयरपोर्ट, पानी ,धारा ,कुलो, बाँध र जलविद्युत आदि निर्माण गर्न ठेक्का लिने र बिना निर्माण नै निर्माण सम्पन्नको प्रतिवेदन बनाएर भ्रष्टाचारहरू भए । पार्टीहरूको प्रत्यक्ष या परोक्षमा विभिन्न काण्डहरू भए । हाउडा काण्ड,लाउडा काण्ड, वाइड बडी काण्ड, संयुक्त राष्ट्र संघमा भएको बफर काण्ड, ओमिनी काण्ड, एक क्विन्टल सुन काण्ड, पैँतिस किलो सुन काण्ड, यती काण्ड, सत्तरी करोडको प्रेस काण्ड आदि आदि काण्डै काण्ड गरेर अकुत सम्पत्ति कमाउनेहरू पार्टी प्रवेश गरे । गुण्डागर्दी गर्ने, हप्ता उठाउने, मानिस अपहरण गरेर पैसा असुली गर्नेहरू पार्टी प्रवेश गर्ने र सांसद बन्ने क्रम बढ्यो । दस वर्षको जनयुद्धका क्रममा बैंक लुटेर र चन्दा असुली गरेर अकुत सम्पत्ति कमाउनेहरूले पैसा लुगाए र ग्याँस स्टेसन अन्य व्यक्तिगत व्यवसायमा लगानी गरे । त्यो कुरा सम्बन्धित पार्टीले खै थाहा पायो की पाएन कुनै खोजी र कारबाही भएन । पार्टीहरूले धनाढ्यहरूसँग पैसा लिएर पार्टीमा व्यापारीहरू भित्र्याएर पार्टीमा स्थापित भए । सरकारी कार्यालयहरूमा बिचौलियाहरू र भ्रष्टकर्मचारीहरूले अनेक बहानामा दुख दिने र कमिसन खाने चलन चलाए । राजनीतिमा लाग्ने नेता र कार्यकर्ताहरू बिना व्यवसाय रातारात नव धनाढ्यमा रूपान्तरण भए । सहरमा घर गाडी बैङ्क ब्यालेन्स देखि उनीहरूकै बोल वाला सुरु भयो । न्यायपालिका र प्रहरी प्रशासनले समेत घुस र कमिसनमा अपराधीहरूलाई संरक्षण दिने कार्य भयो । पुलिस चौकीबाट नै पत्र पठाई दसैँ तिहारमा पैसा दिन बाध्यकारी पत्रहरू पठाएर चन्दा असुली गर्ने कार्य भए । युवाक्ल्व र सङ्घसंस्थाहरूका नाममा चन्दा आतंक फैलाउने कार्यहरू भए ।
मुलुकमा जनसङ्ख्याको वृद्धि सँगै शैक्षिक बेरोजगारीको सङ्ख्या वृद्धि भयो । देशले बेरोजगारी उत्पादन मात्र गर्यो । हत्या, हिँम्सा, अपहरण, चोरी,डकैती जस्ता सामाजिक अपराधहरू बढे । सरकारी र जङ्गलीहरूको धडपकड र यातनाबाट लाखौँ मानिसहरू विस्थापित हुनु पर्यो । जनयुद्धका नाममा हजारौँले ज्यान गुमाउनु पर्यो । कति मानिसहरू सुरक्षाका लागि बिदेसिए । कति बेहाल आर्थिक अवस्थाबाट परिवारलाई बचाउनका लागि पर देशीय । कति युवाहरू साहुले लगेको घरबारी र खेत निखन्नका लागि प्रवासीए । कति युवाहरूले पढ्दा लागेको ऋण तिर्न नसकेर रुँदै देश छोडेका छन् । कति डाक्टरहरू इन्जिनियर शिक्षकहरू र विभिन्न विधाका विद्वानहरू राजनैतिक प्रतिशोध र शिक्षाको कदर नहुँदा अपमानित भएर देश छोड्न बाध्य भए । यसरी विभिन्न देशमा गएर जस्तो सुकै भए पनि काम गरेर बस्न बाध्य भएको छन् । कति मानिसहरूले आफ्नो शिक्षालाई क्षमतालाई र दक्षतालाई बढाएर व्यवशायिक भएर व्यापार गरेका छन् । कति ले उच्च ओहोदामा समेत आफ्नो नाम दर्ज गराई सकेका छन् । तर पनि सपनामा आफ्नै माटोको सपना देख्छन् । आफ्नै मातृभूमिको प्रगतिको खबर सुन्न र देख्न लालायित हुन्छन् ।
नौलो देश, नयाँ ठाउँ, नसुनेको भाषा, नदेखेको संस्कृति, नजानेको काममा पनि अनेकौँ हन्डर खाएर बाँचेका छन् नेपालीहरू । जस्तै कठोर परिस्थितिमा पनि आफ्नो मेहनत र इमानदारी ता र लगनशीलताले गर्दा नेपालीहरूले आफ्नो छुट्टै पहिचान बनाएका छन् । विभिन्न विषयहरूमा विज्ञता हासिल गरेका छन् । सिप कला र व्यवसायहरू गरेर देश भित्र रेमिट्यान्स भित्र्याएका छन् । आफ्नो धरौटीमा राखेका घरबारी निखनेका छन् । खेतलाई आफ्नै परिवारका नाममा फर्काएका छन् । लडेको घर चुहिने छानोलाई मर्मत गरेर नयाँ बनाएर परिवारको बस्ने आधारलाई सुरक्षित बनाएका छन् । खाडी मुलुकको तातो हावामा आफू हाँडीको मकै झैँ बनेर मर्दै र ब्युँतिँदै गरेर पनि पैसा पठाएका छन् । परिवारका आफ्ना प्राण भन्दा प्यारा मान्छेहरूको वियोगमा सिरानी भिजाउँदै पनि पैसा पठाएका छन् । आफू काठको बाकसमा फर्किएर पनि मुलुकमा रेमिट्यान्स भित्र्याएका छन् ।
आखिर कहिले सम्म यसरी प्रवासमा बसेर श्रममा जोतिई रहने । प्रवासका नेपालीहरू आफ्नो देशमा सुव्यवस्था भएको हेर्न चाहन्छन् । न्यायको किनबेच हुने प्रथा अन्त्य भएर स्वच्छ न्याय स्थापना भएको हेर्न चाहन्छन् । कर्मचारीलाई अङ्ग्रेजीमा पब्लिक सर्वेण्ट भनिन्छ । जनताको करबाट बाँचेका मान्छेहरू । चाहे तल्लो तह होस या उपल्लो तहका सबै जना । ती जनताका नोकरहरूले जनतालाई एउटा जनवारलाई जति पनि नगन्ने । भनेको समयमा कुनै काम नगर्ने । भोलि भरे भन्दै आलटाल गरेर घुस माग्ने । ग्राहकलाई उल्टै तुच्छ व्यवहार गर्ने परि पार्टी अन्त्य भएको हेर्न चान्छन । जनताले सम्मानित जीवन बाँचेको हेर्न चाहन्छ । आफ्नो श्रम, व्यवसाय, उद्योग आदिमा बिना कसैको दबाब, डर त्रास, धम्की ,बिना नै सञ्चालन गर्ने वातावरण चाहन्छन् । आफ्नो लगानीको सुरक्षितता चाहन्छन् । उद्योगहरू र शिक्षण संस्थामा हुने बन्द हडताल हुँदै नेपाल बन्द ,यातायात बन्द, तोडफोड, आगजनी जस्ता कार्यहरूको पूर्ण रूपमा बन्द भएको हेर्न चाहन्छ । यदि कतै त्यस्ता प्रकृतिका घटना घटेमा सरकारले त्यसको क्षतिपूर्ति दिने र पिडक पक्ष, सङ्घसंस्था, पार्टीबाट ,कठोरता पूर्वक असुल उपर गर्ने व्यवस्था चाहन्छन् । त्यस्तै गरी आम्दानी चाहन्छ । भय रहित जीवन जिउन चाहन्छ ।
शिक्षण संस्थाहरूमा व्यवशायिक र रोजगारमूलक वैज्ञानिक शिक्षा पठनपाठन होस भन्ने चाहन्छन् । शिक्षण संस्थामा राजनीतिक हस्तक्षेपहरूबाट मुक्त भएर विशुद्ध शिक्षा होस भन्ने चाहन्छन् । स्वास्थ्य क्षेत्रमा सर्वसुलभ सेवा प्रदान होस । आधारभूत किसिमका औषधीहरू जनताले निःशुल्क प्राप्त गरुन् ।
समग्रमा भन्दा मातृभूमिमा आफ्नो शिक्षा, योग्यता, सिप, दक्षता,र विज्ञता अनुरूपका कामहरू गर्न पाइयोस् । सुरक्षित र भय रहित जीवन बाँच्नलाई सबै मानिसहरूले पाउन । स्वदेशको माटोमा परिवार सँगै बस्न र बाँच्न चाहन्छन् । आफूले आर्जन गरेको धन सम्पत्ति सिप योग्यता क्षमता र विज्ञता लिएर आफ्नै मुलुकमा फर्कन चाहन्छन् । भर्खरै बनेको सरकारले यी समस्त नेपालीहरूका चाहना र प्रवासीका कामनाहरूलाई पूरा गर्ने छ भन्ने विश्वास लिएका छौँ ।