
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनबाटै राष्ट्रिपतिको उम्मेदवार बन्ने निश्चित रहेको बताए ।
‘अब केही दिनपछि एजेन्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरूमा छलफल हुन्छ । उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । गठबन्धनबाट नै उम्मेदवार बन्नुहुन्छ,’ उनले भने, ‘गठबन्धन दलभित्र नै सहमति बन्छ । किनभने अहिले गठबन्धनमा बहुमत छ । निर्वाचित बहुमतले गर्ने हो । सरकारमा भएका दलहरुले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’
राष्ट्रपतिमा नेपाली कांग्रेसको अपेक्षाबारे आफू जानकार नभएको उनको भनाइ छ । उनले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको बताउँदै सत्ता गठबन्धन निरन्तरता पाउने दाबी गरे ।