
उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए । उनले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको उल्लेख गर्दै दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताए ।
उनले भने, ‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले त्यस्ता ऐन, कानून ल्याएर छलफल गर्नुपर्ने थियो । यसमा विगतमा हामी धेरै चुक्यौँ भन्ने लाग्छ, दलबाट चुनिएर आएपनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लागेको छ । लाभहानी हेरेर काम नहोस् । जनताका मर्म नभुली काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’
गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताएका हुन् । उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न आग्रह गरे ।
उनले भने, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’
गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधिसभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग आग्रह गरे ।