
आज मौसम बदली भइ सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना छ।
भोलि (शुक्रबार) पनि मौसम बदली भइ सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानमा हिमपातको सम्भावना छ।
पर्सि शनिबार भने वर्षाको सम्भावना छैन । शनिबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।