१३ बैशाख २०८१, बिहीबार

राष्ट्रपति पद मेरा लागि होइन, इच्छा छैन : डा. रुइत

sanduk rohit

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नबनाएको बताएका छन् ।

सञ्चारकर्मीको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको जनाए । आफूले गर्ने कामबारे राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेरै आफूले गर्नुपर्ने काम धेरै रहेको जनाए । उनले राष्ट्रपति पदलाई राम्रो बनाउन गर्नुपर्ने धेरै काम बाँकी रहेको पनि बताए । उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्नेछ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि उनले बुधबार पत्रकार सम्मेलन गरेका थिए । अवार्ड पाएपछि सामाजिक सन्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।

डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढेको दाबी गरे । उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जनाए । राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारे आफूले ध्यान दिइरहेको पनि डा. रुइतको भनाइ छ । नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर बिस्तार गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘यस्तो खालको एउटा ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो । संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्नेकुरा थाहा भयो र नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ । यो जीवनकै कमाइ हो,’ उनले भने, ‘यो जिन्दगीको तपस्याको फल हो । यही कुरा विदेशीले भन्दा नेपालीले दुई, तीन गुणा बढी मिहिनेत गर्नुपर्छ ।’

राज्यले बुझ्नुपर्ने कुरा हो कि अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई माथि लगेको छ । ‘म राज्यले मलाई कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको छु । हामीले अझै नेपालमा पहुँच नपुगेका धेरै ठाउँ छन्, त्यहाँ आँखाको क्षेत्रमा पहुँच विस्तार गर्नुपर्छ,’ उनले भने, ‘राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै विस्तार गर्न आवश्यक छ । तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युसन बनाउनुपर्छ ।’

    सम्बन्धित समाचार...