१८ बैशाख २०८१, मंगलवार

प्रदेश ५ मा ३ सय ३० कोरोना संक्रमित

province no 5

प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । मंगलबार सार्वजनिक रिपोर्ट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्रै २४ जना थपिएका छन् ।

उनीहरु वडा नं १, २ र ८ का हुन् । यस्तै बाँकेको डुडुवा गाउँपालिकाका ३ जना, राप्ती सोनारी गाउँपालिकाका ३ जना, वैजनाथ गाृउपालिकाका एक जना र नेपालगञ्ज उपमहानगरपालिकाका १ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश जनस्वास्थ्य निर्देशनलायका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार कपिलवस्तुका संक्रमितको स्वाबको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा र बाँकेका संक्रमितको स्वाबको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ जना पुग्दा प्रदेश ५ मात्रै ३ सय ३० जना पुगेका छन् ।

मंगलबार साँझसम्मको अद्यावधिक अनुसार बाँके जिल्लामा १ सय ५४ जना, कपिलवस्तु जिल्लामा १ सय ९ जना, रुपन्देही जिल्लामा ४४ जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ७ जना, दाङ जिल्लामा ५ जना, गुल्मी जिल्लामा ४ जना र अर्घाखाँचीमा २ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।