१८ बैशाख २०८१, मंगलवार

पूरा बाहुला भएको लुगा लगाएर कार्यालय आउन स्वास्थ्य मन्त्रालयको आग्रह

helth ministry office nepal

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाएर आउन सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरेको छ ।

डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो भन्दै मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज सूचना जारी गर्नुहुँदै डेंगु रोगको जोखिम कम गर्नका लागि सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गर्नुभएको हो ।

मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो ।

डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै, नेपालमा हाल देखा परिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेका पनि मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ’खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमूलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको भन्दै डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरू गरिएको पनि सूचनामा उल्लेख गरेको छ ।

2221662971686