११ बैशाख २०८१, मंगलवार

नेपाल र चीनबीच संसदीय गतिविधि र उच्चस्तरीय भ्रमण बढाउने समझदारीपत्रमा हस्ताक्षर

PRO KTM CHINISEAGREEMENT AGNISAPKOTA 1024x682 1

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शु र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच आज साँझ संसद् भवनमा भेटवार्ता भएको छ ।

प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ताका क्रममा नेपाल र चीनबीच संसदीय गतिविधि र उच्चस्तरीय भ्रमण बढाउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअघि नयाँ बानेश्वरस्थित सघींय संसद् भवन पुग्नुभएका अध्यक्ष ली लाई स्वागत गर्दै सभामुख सापकोटाले मित्रराष्ट्र चीनका जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली नेपाल आउनु भएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

आजै साँझ सभामुख सापकोटाले अध्यक्ष लीको सम्मानमा होटल सोल्टीमा रात्रि भोजको आयोजना गर्नु भएको छ ।

PRO KTM AGNISAPKOTAAGREEMNETWITHCHINISE 1024x682 1

सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली नेपालको चारदिने भ्रमणका क्रममा आज अपराह्न विशेष विमानबाट काठमाडौँ आउनु भएको हो । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख सापकोटाले स्वागत गर्नु भएको थियो ।

अध्यक्ष लीले आफ्नो भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिनासँग शिष्टाचार भेट गर्नुहुने छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्नुहुने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।