२३ बैशाख २०८२, मंगलवार

तत्काल अमेरिकालाई रणनीतिक आणविक हतियार निरीक्षण गर्न रुसले रोक्यो

Russia

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारहरूको स्थलगत निरीक्षण गर्नबाट तत्कालका लागि रोकेको छ।

हतियार नियन्त्रण सन्धी नयाँ स्टार्ट अन्तर्गत यो निलम्बन गरेको रुसले जनाएको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाले आफु अनुकुल सन्धीको व्याख्या गर्दै फाइदा खोजेको र अमेरिकी भूमिमा आफुलाई आणविक हतियार निरीक्षण गर्ने अधिकारबाट वञ्चित गरेको बताएको छ । असाधारण परिस्थितिमा सन्धीका शर्तहरू अन्तर्गत निलम्बनको निर्णय गरेको मन्त्रालयको दाबी छ।

युक्रेनमाथि रुसले गरेको युद्धलाई लिएर रुसमाथि लगाइएको अमेरिकी प्रतिबन्धले अवस्था परिवर्तन भएको क्रेमलिनले जनाएको छ । सन् २०११ मा यो सन्धि लागू भएको थियो। यो शीतयुद्धका पूर्व प्रतिद्वन्द्वीहरूबीच हतियार कटौती सम्बन्धी यो मात्र बाँकी सम्झौता हो।

यसले प्रत्येक देशले तैनाथ गर्न सक्ने लामो दूरीको आणविक हतियारको संख्या १ हजार ५५० मा सीमित गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ आणविक हतियार सम्झौतामा काम गर्न तयार रहेको बताएको एक हप्तापछि रुसको यस्तो निर्णय आएको हो।

पूरानो सन्धीको समयसीमा सन् २०२६ सम्म रहेको छ । आणविक युद्ध रोक्ने उद्देश्यले अमेरिका र रुस बीच वषौंसम्मको श्रंखलाबद्ध वार्ता पछि हतियार कटौती गर्ने सन्धी भएको थियो ।