१८ बैशाख २०८१, मंगलवार

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

PM deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नु भन्दा देशकै कृषि, वन तथा खानीमा आधारित उद्योग धन्दाहरूको विकास गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारण सभाको आइतबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आयआर्जन गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक क्रियाकलाप बढाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले तत्काल लाभ दिने भन्दा पनि दीर्घकालीन लाभ हुने र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई लगानीको उचित वातावरण निर्माण गर्न सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढाएको पनि उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्कले हालै यस वर्षका लागि मौद्रिक नीति ल्याएकोले त्यसको कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्न र नीतिले ल्याएका सहुलियतका व्यवसायहरूको उपयोग गर्न पनि प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि प्रधान मुलुक भएर पनि कृषिको उत्पादनलाई राज्यले प्रोत्साहन नगर्दा बर्षेनी अर्बौँको कृषिजन्य सामाग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल उद्योग परिसंघको नयाँ वेबसाइट, एप्स तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन योजना सार्वजनिक गर्नुभयो ।

नेपाल च्याम्बर अफ कमर्सले राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको संकुचित मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ ।

उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा विपरीत कर्जा बिस्तारको लक्ष्य समेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने चेम्बरको ठहर छ ।

अनिवार्य नगद अनुपात ३ बाट ४ मा पुर्‍याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायकको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा उल्लेखित ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य एवं मूल्यवृद्धि ७ प्रतिशतमा नियन्त्रण गर्न कठिन हुने चेम्बरले जनाएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष १९ प्रतिशतको कर्जा बिस्तारको लक्ष्य लिइएकोमा त्यसलाई घटाएर चालु वर्षको लागि १२ प्रतिशतमा सीमित गर्न खोजिएको, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात पनि बढाइएकोले मौद्रिक नीतिले आर्थिक गतिविधिलाई थप संकुचित पार्ने उल्लेख गरेको छ ।