
अवधि सकिन चार महिना मात्रै बाँकी रहँदा प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै भुसाल दोश्रो प्रयासमा उपसभामुख बनेकी हुन् ।
दलीय खिचातानीका कारण साढे २ वर्षसम्म रिक्त उपसभामुखमा अहिले भएको निर्वाचनलाई सत्ता पक्षले संवैधानिक परिषदमा बहुमत पुर्याउने स्वार्थसँग पनि जोडेको देखिन्छ ।
सत्ता गठबन्धनले आफ्नो पोल्टामा पारेको उपसभामुखमा निर्वाचित भुसालले १४८ मत पाउँदा एमालेकी विद्या भट्टराईले ९३ मत ल्याइन । जबकि यसअघि भुसाल एमाले उम्मेद्वार शिवमाया तुम्बाहाम्फेसँग पराजित भएकी थिईन ।
त्यो बेला अहिलेको माओवादी केन्द्रको मतले हारेकी भुसाल यसपटक उसकै मतले जितिन । त्यसमा थपियो जसपा र एकीकृत समाजवादी समेतको सत्ता गठबन्धनको भोट । लोसपाले गठबन्धनलाई सघाउँदा राप्रपाले एमालेलाई मत दियो ।
२०७६ साल माघमा रिक्त भए पनि मुख्य दलहरुको राजनीतिक खिचातानीले प्रतिनिधिसभाले उपसभामुख पाएको थिएन । अहिले संवैधानिक परिषदमा सदस्य समेत हुने भएकोले राजनीतिक स्वार्थ पुरा गर्न सत्ता पक्षले उपसभामुखको चुनाव गरेको विपक्षीको आरोप छ। आफूले नपाएको आक्रोश पनि एमालेले पोखेको छ ।
सत्ता पक्षले पनि उपसभामुख चयनलाई संवैधानिक परिषद्ले पुर्णता पाएको भन्दै उपलब्धीपूर्ण ठानेको छ । अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी उपसभामुख भुसाल पाँच दशकदेखि राजनीतिमा सक्रिय छन् । कांग्रेसबाट उपसभामुख बनेकी भुसालले संसदीय गरिमा कायम राख्ने र तटस्थ रहेर काम गर्ने बाचा गरेकी छन् ।