
सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनबीच स्थानीय निर्वाचनका बारेमा भएकाे तालमेलविपरित दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिन पहल गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुावाटारमा बसेकाे पाँच दलीय गठबन्धनकाे बैठकले केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेकाे हाे।
बैठकले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय गरेको छ ।
पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने तथा गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएकाे छ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल तथा जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागीता रहेकाे जनाइएकाे छ।
