६ बैशाख २०८१, बिहीबार

माडी नगरपालिकाको मेयर र उपमेयरमा एक/एक जनाको उम्मेद्वारी दर्ता

Madi Nagarpalika

चितवनको माडी नगरपालिकाको मेयर र उपमेयरका लागि एक/एक जनाको उम्मेद्वारी दर्ता भएको छ ।

आइतबार नागरिक राष्ट्रिय पार्टीबाट मेयरमा पूर्णप्रसाद सुवेदी र उपमेयरमा सीता कुमारी बोटले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमले जानकारी दिए । यस्तै सोही पार्टीबाट वडा नं.३ को अध्यक्षमा मदन शाहा, सदस्यहरुमा सविता महतो र सलमा महतोले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै वडा नं.६ को अध्यक्षमा स्वतन्त्र रुपमा गौरीशंकर ढकालले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए । सत्तारुढ गठबन्धन र नेकपा (एमाले)ले उम्मेद्वार तय नगरिसकेकाले आइतबार उम्मेद्वारी दर्ता गरेनन् । भोलि अन्तिम दिन सबै दलहरुले उम्मेद्वारी दर्ता गराउने तयारी छ ।

सामाजिक अभियान्ता अर्जुन भुसालले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

चितवनका चर्चित सामाजिक अभियान्ता अर्जुन भुसालले माडी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । उनले आज (आइतबार) फेसबुक मार्फत मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । विभिन्न संघसंस्थामा आबद्ध भएर उनले सामाजिक काम गर्दै आइरहेका छन् । उनले गरिब तथा विपन्नको उद्धार र राहत वितरणमा उल्लेख्य योगदान पु¥याएका छन् ।

माडी नगरपालिका–४ का स्थिाई बासिन्दा भुसालले युवाहरु नेतृत्वमा आउनुपर्ने मान्यताका साथ आफुले नगरप्रमुखमा उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘माडी आफै सुन्दर नगरपालिका हो,यसलाई थप सुन्दर र विकसित बनाउन उम्मेदवारी दिने निर्णय गरेको छु ।’ उनले सबै युवाहरुको साथ लिएर अगाडी बढ्ने भन्दै सम्पूर्ण माडीबासीको माया र सद्भाव आफुले पाउने विश्वास व्यक्त गरे ।