८ बैशाख २०८१, शनिबार

सात किलो सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

arest

प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेस जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।

उक्त लागुऔषध लिन आएका भारतका ललनुन पुईलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुवैमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान जारी छ । उक्त लागु औषधको बजार मूल्य रु १४ करोड रहेको ब्युरोले जनाएको छ ।

यसैबिच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।