१६ चैत्र २०८०, शुक्रबार

पाँच पिलरको अवधारणा कांग्रेसको घोषणापत्रमा

congress ghosada

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले जनताको कर भ्यू टावर र स्वागतद्वारमा खर्च नगर्ने प्रतिवद्दता जनाउँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एमसीसी पारित र सीमा विवादमा भारतसँग भएको कुराकानीलाई महत्वपूर्ण उपलव्धी ठहर गरेको कांग्रेसले संविधान र लोकतन्त्रलाई मास्न खोजेको भन्दै एमालेप्रति भने आक्रोश पोखेको छ ।

घोषणापत्रमा कांग्रेसले सवै पालिकामा इन्टरनेट पुर्याउने र शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकता दिने वाचा पनि गरेको छ । समुन्नत गाउँ, नगर र सबल स्थानीय सरकारका लागि शिक्षा स्वास्थ्य, प्राकृतिक श्रोत वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि रोजगारी उद्यमलाई कांग्रेसले पाँच पिलरका रुपमा उल्लेख गरेको छ ।

१५ बुँदे संकल्पमा कृषिदेखि कला संस्कृतिसम्म अनि सामाजिक सुरक्षामा कोखदेखि शोकसम्म जनतालाई साथ दिने भनिएको छ । प्रत्येक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने भन्दै सार्वजनिक स्थलमा फ्री वाइफाइ र गाउँमा इन्टरनेट सविधा पुर्याउने प्रतिज्ञा समेत कांग्रेसले गरेको छ ।

एमाले नेतृत्वको सरकारले संविधानमाथि हस्तक्षेप गरेको र भ्रष्टाचार बढाएको आरोप कांग्रेसले लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उन्मादीले २०७४ को निर्वाचनपछिको समय सबैभन्दा घातक बनेको कांग्रेसको दावी छ । सरकारलार्इ परमादेशी भन्ने एमालेको आरोपको घोषणापत्रबाटै प्रतिवाद गर्दै कांग्रेसले बरु एमाले नै अदालतबाट जन्मिएको भनेको छ ।

आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि काम नगर्ने बाचा कांग्रेसले गरेको छ । घोषणापत्रमा झट्ट हेर्दा महत्वाकांक्षी योजना छैनन् । तर त्यो व्यवहारमा कति कार्यान्वयन हुन्छ, निर्वाचन पछि छर्लङ्ग हुनेछ ।