१४ बैशाख २०८१, शुक्रबार

याद गर्न समेत जरुरी ठानेन् चुनावी चटारोले आज लोकतन्त्र दिवस, के पाए जनताले ?

loktantra

आज लोकतन्त्र दिवस । लोकतन्त्रकै जगमा मुलुकमा आएको गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको उपभोग गरिहँदा चुनावी चटारोको कारण धेरैले यो दिवसको याद गर्न समेत जरुरी ठानेन् ।

लोकतन्त्रले देशमा आमूल परिवर्तन आउँछ, जनताको जीवनशैलीमा फेरिन्छ भन्ने आश गर्नेहरुमा देखिएको निराशा र नेताहरुमा देशको सत्तास्वार्थको भूमरीमा यो दिवस परेको छ । आज वैशाख ११ अर्थात लोकतन्त्र दिवश । १५ वर्षअघि २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागबमोजिम आफैले विघटन गरेको संसद पुर्नस्थापना भएको दिनका सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२÷६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्य भई लोकतन्त्र स्थापना भएको थियो ।

लोकतन्त्र स्थापनका लागि लाखौ मानिस सडकमा आएपछि आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए ।

यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो भने यसैको जगमा संविधानसभाको निर्वाचन तथा संविधान निर्माणसम्मका चरणहरु पुरा भए । यसरी जनताको आन्दोलनका भरमा स्थापना भएको लोकतन्त्रले जनतालाई आफ्नो संविधान आफै लेख्ने अधिकार दियो । संविधानले धर्मनिरपेक्षता, समावेशीता र संघियता जस्ता उपलब्धीहरु संस्थागत गर्यो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

लोकतन्त्रकै उपलब्धी वैशाख ३० मा पुन स्थानीय निर्वाचन हुँदै छ । तर आजको लोकतन्त्रले केवल राजनीतिक परिवर्तन बाहेक केहि नदिएको भन्दै यसका उपलब्धीहरुमाथि नै प्रश्न उठ्न थालेको छ ।

लोकतन्त्र पुनर्बहालीका लागि भएको संघर्षमा हजारौँ व्यक्तिले ज्यान गुमाए, कयौले कठोर कारागार सजाय पाए, चरम यातना भोगे, बेपत्ता पारिए, यौन हिंसामा परे, शरणार्थी बने, घरवारविहीन भए तथा परिवारलाई विचल्लीमा पारे । तर सुनौलो भविष्य र आमूल परिवर्तनको आशामा वलिदानीका लागि तयार भएकाहरु पछि हटेनन् भने यसलाई सत्ता तथा व्यक्ति स्वार्थसँग साटेनन् ।

तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ । कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागतभन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् ।

संविधानलाइ नै असफल पार्ने खेल खेल्न समेत पछि नपरेका नेताहरु देशलाई अस्थिरतामा फसाएर पुन राजनीतिक संक्रमणमा प्रवेश गराउन उद्यत छन ।

संघियताको सहि कार्यान्वयनमा बाधक बन्दै आएका उनीहरु निर्वाचन केवल सत्ता आरोहणको आधारमा मात्र बनेको छ । अर्थात लोकतन्त्र स्थापनापछि देशमा आमुल परिवर्तन र जनजिविका परिवर्तनको आशमा आन्दोलनमा होमिएकाहरु अहिले निराश बन्दै गएका छन ।

तर राजनीतिक दलहरु भने केवल सत्ता प्राप्ती भन्दा माथि उठ्न सकेका छैन देशमा वेरोजगारी व्याप्त छ, जनजीविनका सवाल राजनीतीक एजेन्डा बन्न सकेका छैन । परिवर्तन र विकासका लागि एक हुनुपने दलहरु भावी प्रधानमन्त्री हुन र तत्काल वढि सिट पाउनका लागि मात्र गठबन्धनमा जोडिने गरेका छन ।

नेताका आसपाशे नभई पद र अवसर नपाईने अवस्था व्यापक बन्दै जाँदा लोकतन्त्रका प्राप्त उपलब्धीको जनताले उपभोग गर्न पाएका छैनन् । अर्थात हिजो जनताका लागि भनिएको आन्दोलन आज ठूला ठालु र सत्ताको उपभोग गर्नेहरुलाई मात्र भएको प्रमाणित गर्न दलहरु उद्दत देखिएका छन् ।