११ बैशाख २०८१, मंगलवार

चितवन वाईसीएलका प्रभावशाली नेता पाण्डेले माओवादी त्यागे

Diwas Pandey

चितवन वाईसीएलका नेता दिवस पाण्डेले माओवादी केन्द्र परित्याग गरेका छन् ।

वाईसीएल लेखा आयोग प्रमुख पाण्डेले स्थानीय निर्वाचन नजिकिएसँगै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनी माओवादी केन्द्र विशेष प्रदेश समिति सदस्य पनि रहेका थिए । चितवन कालिका नगरपालिकाका स्थायी बासिन्दा पाण्डेले अग्रगामी छलाङ नामको फेसबुक प्रोफाइलमार्फत माओवादी त्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘विगत लामो समयदेखि नेकपा माओवादी केन्द्र र त्यससँग सम्वन्धित सहायक–जनसंगठन वाईसीएल, नेपालको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएकोमा पछिल्लो राष्ट्रियताको मुद्दामा पार्टीले लिएको नीतिदेखि मेरो विरोध रहँदै आएको सर्ववितितै छ ।

पार्टी भित्रको चरम गुटबन्दी, सामाजिक रुपमा स्थापित कार्यकर्ताहरुको भूमिकालाई न्यूनीकरण गर्ने शैलीले पार्टीलाई विस्तारै विघटनको दिशा तिर लागेको छ । अव उपरान्त नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समिति सदस्य , लेखा आयोग प्रमुख र पार्टी सदस्य समेत नरहेको घोषणा गर्दछु ।

कम्युनिस्ट पार्टी कस्तो हुनुपर्दछ भनेर जसरी मैले बुझेको थिएँ यसका राजनीतिक र सामाजिक पक्षका सामान्य प्रवृत्तिहरु पनि म आवद्ध पार्टी नेकपा (माओवादी केन्द्र)मा नरहेकोले आजका दिनबाट पार्टी काममा निरन्तरता दिन नसक्ने हुँदा आजकै दिन देखि कुनै पनि राजनीतिक दलमा नरही अन्याय र विभेदका विरुद्ध स्वतन्त्र रुपमा आफ्नो स्वविवेकले भ्यायसम्म श्रमजीवी नेपाली जनताको पक्षमा सदैव उभिरहने छु । सबैखाले न्यायपूर्ण आन्दोलनमा मेरो सक्रिय सहभागिता रहने छ साथै सामाजिक न्यायका मूल्यमान्यताबाट म कदापी बिमुख हुने छैन ।’