१४ बैशाख २०८१, शुक्रबार

पैंतीस हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै

election

निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दैछ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१ पदका लागि आइतबार र सोमबार देशभरका निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता हुन लागेको हो । आयोगले उम्मेदवार दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय छुट्याएको छ ।

आइतबार र सोमबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो ।
यसैगरी, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुईजना खुलाका लागि उम्मेदवार दर्ता हुने छ ।

छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाका लागि निर्वाचन हुँदैछ । त्यस्तै, ४६० गाउँपालिका, ७५३ नपालिका–गाउँपालिका, ७७ जिल्ला समन्वय समिति र ६७ सय ४३ वडामा निर्वाचन हुँदैछ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगञ्ज महागरपालिकामा एक हजार २५ जनाको मनोनयन दर्ता भएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवार मनोनयन दर्ता गर्न सक्ने जानकारी दिनुभयो ।

आयोगले उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया, सहज, सरल र शान्तिपूर्ण रुपमा समयमा नै सम्पन्न हुने विश्वास लिएको छ ।

उम्मेदवार हुने व्यवस्था

स्थानिय तह निर्वाचन निर्देशिका २०७३ को परिच्छेद (९) अनुसार स्थानीय निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।

उम्मेदवार हुन नेपाली नागरिक र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्ने छ । यसैगरी, कुनै कानूनले अयोग्य नभएको व्यक्ति र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदका लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य भएको महिला उम्मेदवार हुन सक्ने व्यवस्था छ ।

तर, ऐन अनुसार सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउने छैनन् ।

यसैगरी, सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्ति पनि स्थानीय निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर, स्थानीय तहमा उम्मेदवार हुन कुनै पनि दलको सदस्य हुनुपर्ने बाध्यता भने छैन ।

उम्मेदवारलाई लाग्ने खर्च

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को परिच्छेद ६ मा व्यवस्था भएअनुसार उम्मेदवार उम्मेदवार हुन रकम धरौटी राख्नुपर्ने व्यवस्था छ । गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्य वा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य पदको उम्मेदवारी हुनका लागि रकम धरौटी राख्नुपर्ने व्यवस्था छ ।

गाउँ कार्यपालिका र नगर कार्यपालिकाको महिला र दलित वा अल्पसङ्ख्यक सदस्यका लागि दुई सय पचास रुपियाँ धरौटी राख्नुपर्ने छ । तापनि महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा पचास प्रतिशत छुट हुने व्यवस्था छ ।

निर्वाचन कार्यक्रम

वैशाख १२ गते नै मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यस्तै, १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँच बुझ र निर्णय, १५ गते नै मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

त्यस्तै, वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामवली प्रकाशन, १७ गते उम्मेवदारलाई निर्वाचन चिह्न प्रदान गर्ने र वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

कस्तो थियो २०७४ को निर्वाचन ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगञ्ज महागरपालिकामा एक हजार २५ जनाको मनोनयन दर्ता भएको थियो ।

विभिन्न दल र स्वतन्त्र गरी एक लाख ४८ हजार ३६४ जना उम्मेदवार सहभागी रहेको निर्वाचन आयोगको तथ्याङ्क छ । निर्वाचनमा ५७ दल सहभागी भएकामा १८ वटा दलको प्रतिनिधित्व रहेको थियो ।