१२ बैशाख २०८१, बुधबार

तालमेलको कसरत एमाले र राप्रपाबीच भरतपुर महानगरमा

oli lingden
फाइल फोटो

भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेलका लागि छलफल सुरु भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा छलफल भइरहेको राप्रपा स्रोतले जनाएको छ ।

‘यस विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको नेतृत्वसँग छलफलमा हुनुहुन्छ । सहमतिको अन्तिम चरणमा छौं,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल हुन्छ ।’

एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको सचिवालय बैठकले ५ महागरपालिकाको मेयर तथा ३ उपमेयरको नाम टुंग्याएको छ । एमालेले काठमाडौं, पोखरा र ललितपुर महानगरपालिको मेयर र उपमेयरको अन्तिम टुंगो लगाए पनि भरतपुर र वीरगन्जमा मेयरमात्रै टुंग्याएको हो ।

वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्ने निर्णय यसअघि नै भइसकेको छ । शनिबार साँझ भएको बैठकपछि एमालेका प्रचार विभागमा प्रमुख पृथ्वीसुब्बा गुरुङले भरतपुरमा उपमेयर तोकिन बाँकी रहेको जानकारी सञ्चारकर्मीहरुलाई गराएका थिए ।