१३ बैशाख २०८१, बिहीबार

व्यक्तिवादी चरित्रले मार्क्सवाद र लेनिनवादका आदर्शलाई त्यागेका कारण विद्रोह गरी नयाँ दल स्थापना: नेपाल

KRG KTM NCPYES 1024x768 1

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा समृद्धि कायम गरी जनताको सुखको आकाङ्क्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले मार्क्सवाद र लेनिनवादका आदर्शलाई त्यागेका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरी नयाँ दल स्थापना गरेको प्रष्ट पार्नुभयो ।

पुष्पलालले स्थापना गरेको पार्टीमा गलत प्रवृत्तिले नेतृत्व गर्दा पुष्पलालले विद्रोह गरी पुनःकम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न नयाँ पार्टी स्थापना गरेको स्मरण गर्दै उहाँले अहिले आफूले पनि कम्युनिष्ट आदर्शलाई जगेर्ना गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीले स्थापनाको छोटो कार्यकालमा अहिले देशभर जिल्ला कार्यसमिति निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय तहका साथै अधिकांश वडामा सङ्गठन विस्तार भएको जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष नेपालले राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष तथा खेलाडी पीताम्बर तिम्सिनाको नेतृत्वमा १०० भन्दा धेरै कार्यकर्ता उक्त पार्टीमा प्रवेश गराउनुभयो ।

पार्टीका उपमहासचिव डा.विजय पौडेलले स्थानीय तह निर्वाचन लक्षित पार्टीको घोषणापत्रबारे जानकारी गराउनुभयो । रासस