१२ बैशाख २०८१, बुधबार

निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत : सुनिल प्रजापति

Sunil Prajapati 768x391 1

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन् ।

निर्वाचन सिद्धान्त र विचारको लडाइँ भएको भन्दै तर ठुला राजनीति दलहरुले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताए ।

निर्वाचन घोषणा पत्रको लडाइँ भएको उल्लेख गर्दै ठुला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणा पत्रको लडाइँ हो भने राजनीतिशास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए । राजनीति देश र जनताको सेवाका लागि हुनुपर्नेमा राजनीतिलाई ती ठुला दलहरुले पैसा कमाउने माध्यम बनाएको आरोप लगाए ।

सेवा निवृत शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विचार र सिद्धान्त फरक भए पनि जित्नकै लागि भागबन्डा हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले ती दलहरु सिद्धान्त र विचारको लडाइँ नभइ निर्वाचनलाई भाग पाउने रुपमा लिएको भन्दै रोष प्रकट गरे ।

राजनीति भागबन्डामा सीमित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । निर्वाचनसँगै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर ठुला राजनीतिक दलहरुले गठबन्धन गरेको भन्दै उनले ती दलहरु भागबन्डामा सीमित भएको उनले बताए ।

एमसीसीको विरोध गर्ने संसदमा आफनो पार्टी नेपाल मजदुर किसान पार्टी मात्रै रहेको स्मरण गर्दै उनले मन्त्रीलेसमेत अध्ययन नै नगरेर एमसीसी सम्झौता पारित गरेको आरोप लगाए ।

संयुक्त राष्ट्र संघमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गर्नु गलत भएको भन्दै युक्रेन नेटोको सदस्य नबनोस् र युक्रेनको सैनिकीकरण बन्द गराउन रसियाले युक्रेनमाथि आक्रमण गरेको भनाइ राखे ।