१६ चैत्र २०८०, शुक्रबार

सिट बाँडफाँटप्रति अध्यक्ष नेपालको असन्तुष्टि

madhav nepal 1
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाउनु भएको छ ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नु भयो ।

महानगरपालिका र उपमहानगरपालिकाका पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी–उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । ’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो–‘भोलि नोमिनेशन फाइल गर्ने दिन हो । पर्सि पनि नोमिनेशन गर्ने दिन हो । यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला । ११ गते नोमिनेशन गर्लान् । र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउला भनि सोचेका पनि होलान् ।’

अध्यक्ष नेपालले एमालेभित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गर्नुभयो ।