१५ चैत्र २०८०, बिहीबार

पाल्पामा गठबन्धनले लगायो भागबण्डा, कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई दुई–दुई पालिका

palpa gath

लामो छलफलपछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा बसेको गठबन्धनको बैंठकले नेपाली काँग्रेसलाई दश स्थानीय तह मध्ये ६,नेकपा माओवादी केन्द्रलाई २, नेकपा एस (एकीकृत समाजवादी)लाई २ वटा पालिका दिने गरी भागबण्डाको टुंगो लागेको छ । नेपाली काँग्रेसले निस्दी गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष /प्रमुख पाएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको छ । नेकपा माओवादी केन्दको भागमा भने तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

यस्तै नेपाली काँग्रेसको उपप्रमुख /उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

नेकपा एस (एकीकृत समाजवादी)को भागमा उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा निस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका परेका छन् । वडाको बाँडफाँड भने सम्बन्धित पालिकाले लगाउने छन् । पालिका बाँडफाड भए पनि उम्मेदवारको भने अहिलेसम्म टुंगो लागेको छैन ।