१४ बैशाख २०८१, शुक्रबार

नेपालले भने– ओलीको कुर्सीको खुट्टा भाँचियो

madhav nepal 1
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुुर्सीको एउटा खुट्टा भाँचिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्र्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गरेकाले ओलीको कुसीको खुट्टा भाँचिएको बताएका हुन् ।

“केपी ओलीलाई हामीभन्दा पनि नजिकबाट देख्नुभएको छ । एक समय उहाँ केपी ओलीसँग चुर्लुम्म डुब्नुभएको हो, अनि वाक्क दिक्क हुनुभयो र अहिले पार लाग्दैन भनेर यता आउनुभयो,” एमाले परित्याग गरेका पिताम्बर तिमल्सिनालाई देखाउँदै उनले भने,“केपी ओलीको कुर्सीको एउटा टेको भाँचियो । अर्को खुट्टा पनि बलियो छैन ।”

नेपालले केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडि इमान्दार र असल मानिसहरु बस्नै नसक्ने बताए । उनले ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको पनि बताए ।

अध्यक्ष नेपालले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा महानगर र उपमहानगरमा भागबन्डा राम्रो सन्देश दिए पनि जिल्लाको रिपोर्ट सुन्दा उत्साहित हुने स्थिति नदेखिएको बताए ।

“हामीले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा सहमति गरेका छौँ । यसले देशैभर एउटा राम्रो सन्देश दिएको थियो,” उनले भने,“तर, विभिन्न जिल्लाको रिपोर्ट सुन्दा आशा लाग्दो र उत्साहित हुने स्थिति देखिएको छैन । हामीले भनेका थियो । देशैभर हाम्रो सञ्जाल छ भनेर ।”

उनले यसअघि गठबन्धनमा ज–जसले जितेका थिए त्यहाँ उनीहरुले नै नेतृत्व गर्ने भनिए पनि एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो हुने दाबी आफूहरुको रहे पनि त्यो नभएको बताए ।

जे–जस्तो भए पनि अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्नुपर्ने उनले बताए । उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा गठबन्धनका विषयमा केही नेताहरु लचिलो हुन तयार भए पनि केही नेताहरुमा त्यो नदेखिएको बताए ।