१२ जेष्ठ २०७९, बिहीबार

स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी

Comnusit Nepal

नेपालमा कम्युनिष्ट पार्टी संस्थागत बनेको ७३ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनामा कम्युनिष्ट सिद्धान्त, विचार र मोडलभन्दा पनि स्मरण गर्न योग्य विषय भने विभाजन र टुटफुट हुने गरेको छ । अस्थिर नेतृत्व र व्यक्तिवादी चरित्रले कम्युनिष्ट पार्टीले ७३ वर्षमा ७३ भन्दा धेरै पटक विभाजनको चोट सहनु परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापनाको ७३ वर्ष पूरा भएको छ । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हालसम्म यो पार्टीको सबैभन्दा ठूलो विरासत नै फुटको श्रृंखला बनेको छ । पार्टी स्थापनाको ४६ वर्षपछि कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व सम्हालुन्जेल कयौँ पटक विभाजित भएको पार्टी त्यसपछि पनि विभाजनको शिलशिला रोकिएको छैन ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी संस्थापक बनेर स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी ७३ वर्षपछि आइपुग्दा ७३ पटक नै विभाजन भएको चर्चा गरिन्छ । नेपालमा जहाँनिया राणाविरुद्ध लड्न र त्यसका लागि नागरिकलाई सचेत गराउन माक्सर्वाद अध्ययनको अभियान चलाइरहेका केही युवालाई बाइपास गर्दै स्थापना गरिएको यो पार्टी त्यसको दुई वर्षबाटै धरमराउन सुरु भएको थियो ।

२००८ सालमा संस्थापक पुष्पलाललाई महासचिवबाट हटाएपछि फुटको शिलशिला प्रारम्भ भयो । राणा शासनबाट प्रताडित समाजलाई साम्यवाद बुझाएर पार्टीलाई बलियो बनाउनेदेखि राजालाई समर्थन गर्नेजस्ता विचारले पार्टीमा विवादको विउ रोप्यो ।

रुसलाई मान्ने कि चीनलाई मान्ने, राजा मान्ने कि जननिर्वाचित कार्यकारी मान्ने, राजासँग मिलेर प्रजातान्त्रिक शक्तिहरुको खिलापमा जाने कि प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेससँग मिलेर राजाका अधिकार खुम्च्याउने विद्रोहमा सहभागी हुने जस्ता अनेकौँ विरोधाभासले नेपाल कम्युनिष्ट पार्टी फुट र विवादको घेराबाट बाहिर निस्किन सकेन । यो बीचमा राजा, कांग्रेस वा बाह्य शक्तिसँग मिलेको वा मिलेको भन्ने आरोप, सिद्धान्तबाट च्युत भएको वा सिद्धान्तच्युत भएको आरोप जस्ता अनेकौँ फण्डा झेल्दै ७३ वर्ष पूरा गर्दा कम्युनिष्ट पार्टी आफ्नो मुल सिद्धान्त, विचार र आदर्शबाट धेरै टाढा पुगेको छ ।

आफूलाई मुलुकको झण्डै ६० प्रतिशत वाम मत प्राप्तिको असली हकदार दाबी गरिरहने तर पार्टी वा देशको सत्तामा पुगेपछि आफूलाई तानाशाह सम्झिने प्रवृत्तिले कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु लामो समयसम्म सँगै रहन सकेनन् । पार्टीको विचार साम्यवाद भइरहने तर नेतृत्व गर्ने व्यक्तिको विचार तानाशाही र पाखण्डवादको घेराबाट बाहिर निस्कनै नसक्ने परिस्थिति कम्युनिष्ट पार्टीहरुमा झाँगिदै गयो ।

विचारका आधारमा प्राप्त नागरिकको मत र शुभेच्छालाई व्यक्तिगत लाभका लागि दुरुपयोग गर्ने, विश्वासमा आधारित मतमाथिको कुठाराघात, सत्ता र शक्तिमा हदैसम्मको आशक्ति जस्ता कुराले कम्युनिष्ट पार्टीहरु एक हुन नसकेको देखिन्छ । यति हुँदाहुँदै पनि कम्युनिष्ट पार्टीबीच एकता वा कम्युनिष्ट शक्ति निर्माणको चर्चा अद्यापी जारी छ । ४ वर्षअघि मात्रै मुलुकका दुई ठूला कम्युनिष्ट शक्तिहरु एक भएर आम निर्वाचनमा प्राप्त गरेको नागरिकको अथाह विश्वास र शुभेच्छालाई जोगाउन सकेनन् । पार्टीभित्रकै कलह र शक्ति केन्द्रहरुको प्रभावले कम्युनिष्ट सत्ता एक कार्यकालसमेत टिक्न सकेन ।

सामान्यतया नागरिकले ५ वर्षका लागि दिएको जनमत अहिलेसम्मका कुनै पनि कम्युनिष्ट सत्ताले जोगाउन सकेको छैन । त्यसो त मुलुकको अस्थिर राजनीतिको प्रभाव यो भन्दा धेरै कांग्रेसमा देखिएको छ । तर मतका आधारमा बलियो वाम शक्तिमा देखिएको विचलनले मुलुकले कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्षसम्म पनि कुनै विचार वा सिद्धान्तका कारण थप विकासको स्वाद चाख्न पाएको देखिँदैन ।

समयक्रमले हुने विकासबाहेक कुनै विचार, वाद र नेतृत्व यो मुलुकको मसिहा बन्न सकेको छैन । कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्ष पूरा गरेको अवसरमा दिवस मनाएर रमाइरहेको नेतृत्व आफू कत्तिको स्थापित हुन सक्यौँ भन्ने विषयमा भने सचेत बन्नुपर्ने देखिन्छ ।