१५ चैत्र २०८०, बिहीबार

‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’ गठबन्धन

kp oli
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिनु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनु भयो । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै उहाँले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताउनु भयो ।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उहाँले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘स्थानीय तहमा एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्नेछ । म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह गर्न चहान्छु–देशको भविष्य, तपाई हाम्रो सन्ततिको भविष्य, तपाई हाम्रो भावी सन्ततिको भविष्य, कुनै संकीर्ण बहकावमा अन्धकारमा पर्न नदिऊ । देशमा छाउनुपर्छ सूर्य । आउनुपर्छ एमाले । अव देशमा छाउने सूर्य हो । आउने एमाले हो ।’

अध्यक्ष ओलीले आगामी सबै तहको निर्वाचन जित्ने र मुलुकलाई आत्मविश्वासका साथ बनाउने अभियानमा सहभागी हुन पनि सबै देशबासीलाई आह्वान गर्नुभयो । उहाँले आफ्नो पार्टीले घोषणा गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रको सारतत्व समृद्ध नेपालः सुःखी नेपाली बनाउनु रहेको बताउनु भयो । त्यसका लागि आफ्नो पार्टीको नेतृत्वमा तीन वटै तहमा सरकार बनाउनैपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अव म के भन्न चाहन्छु भने–हाम्रो घोषणापत्रको सारतत्व हामी, समृद्ध नेपालः सुःखी नेपाली बनाउन चाहन्छौं । त्यसका निम्ति सरकार नबनाइकन हुँदैन । हामी सरकार बनाउन चाहन्छौं आगामी निर्वाचनबाट । आगामी आम निर्वाचनबाट केन्द्रीय सरकार बनाउन चाहन्छौं हामी । प्रदेश सरकार बनाउन चाहन्छौं हामी प्रादेशिक निर्वाचनबाट । त्यसैगरेर स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार हामी बनाउन चाहन्छौं ।’

अध्यक्ष ओलीले चैत्र महिनाभित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भनेपनि सरकारले नसकेको बताउनु भयो । उहाँले यो सरकारले बर्खामा बाढी पसेपछि मात्रै पानी होइन भल काठमाडौंमा टनेलमार्फत खसाल्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘चैत्रभित्रमा मेलम्चीको खानी खसाल्छु भनेको होइन । मेलम्चीको पानी खस्दैन । त्यतिबेला यिनीहरुले पानी ल्याउछन, जतिबेला त्यहाँ भल पस्छ । मेलम्चीको टनेलबाट बाढी पसाउँछन, पानी होइन । भल पसेपछि फेरि बनाउँछु भन्छ र फेरि बनाउनका लागि २–३ वर्ष लगाउँछन । २–४ अर्व खान्छन । देशको अर्थतन्त्र आज ध्वस्त हुँदैछ । देशलाई ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर कायम गराउने एमाले थियो । आज एमालेले स्थानीय तह जितेन भने भोलि प्रादेशिक र केन्द्रीय सरकार जितेर पनि स्थानीय तहमार्फत नै धेरै कुराहरु गर्नुपर्ने हुन्छ ।’