१६ चैत्र २०८०, शुक्रबार

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न, ‘टुल्की’ उत्कृष्ट फिचर फिल्म

aaitaram gurung

गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ फिल्म ‘फुङ’लाई अवार्ड प्रदान गरियो ।

त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले अवार्ड जित्यो । सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ले अवार्ड प्राप्त गर्यो ।

bhimlal shrestha

‘स्क्रिन प्ले’तर्फ ‘टुल्की’बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गरे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म ‘मौन प्रतिशोध’लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धि अन्तरक्र्रिया समेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट,अभिनेत्री पनाह अधिकारी लगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका थिए । ३५ फिल्ममध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो ।

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको छ।

नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार १ हजार भन्दा बढी दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए ।

    सम्बन्धित समाचार...