८ बैशाख २०८१, शनिबार

तागत देखेर ओली थरथरी काँपेको नेता पौडेलको दाबी

ramchandra paudel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी काँपेको बताउनुभएको छ ।

आज नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा (एमाले)का अध्यक्ष केपी ओली थरथरी काँपेको बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाका लागि बनेको बताउनुभयो ।

लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रका लागि लड्ने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरु, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरु, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षड्यन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ ।’

उहाँले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पूर्णता दिनुपर्ने बताउनुभयो । उहाँले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताउनुभयो ।