१३ बैशाख २०८१, बिहीबार

सम्मानजनक व्यवहार नभए गठबन्धनमा नबस्ने माधव नेपालको चेतावनी

madhav nepal 1
फाइल फोटो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्मानजनक व्यवहार नभए गठबन्धनमा नबस्ने चेतावनी दिनुभएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको बताउनुभएको हो । उहाँले आफ्नो पार्टीलाई अपमान सह्य नहुने स्पष्ट पार्नुभएको छ ।

गठबन्धन भित्रका पार्टीहरुले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै अरुको शक्तिको अवमूल्‍यन गरेर अपमानपूर्ण ढंगले व्यवहार गरेकोमा उहाँको आपत्ति थियो । आफूहरुले विद्रोह गरेर पार्टी गठन गरेको स्मरण गराउदै उहाँले कुनै अपमानपूर्ण व्यवहार सह्य नहुने चेतावनी दिनुभयो ।

नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्‍याङ्कन र अवमूल्‍यन दुवै ठीक नभएको बताउनुभयो ।

महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताउनुभयो ।