१५ चैत्र २०८०, बिहीबार

नेतृत्व बाँडफाँड गठबन्धनले गर्दा नेकपा एमालेलाई सकस !

gathbandan vs uml

सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिकाको नेतृत्व बाँडफाँड गर्दा नेकपा एमालेलाई सकस पर्ने देखिन्छ । काठमाडौं उपत्यकाका दुई वटा महानगरपालिकामध्ये अघिल्लो निर्वाचनमा काठमाडौंमा एमाले तुलनात्मकरुपमा बलियो रहेको थियो भने ललितपुरमा कांग्रेसले थोरै मतले जित हात पारेको थियो । अहिले परिस्थिति बदलिएको छ, सत्तारुढ पाँच दलीय गठबन्धन एकतिर र एमाले राप्रपा नेपालसहित केही साना दल बोकेर निर्वाचनमा होमिँदैछ ।

काठमाडौंमा २०७४ स्थानीय तह निर्वाचनको परिणामः
काठमाडौं महानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मेयर जितेको थियो भने उपमेयर कांग्रेसको पोल्टामा पुगेको थियो । एमालेका तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत पाउनुभएको थियो । कांग्रेसका उम्मेदवार राजुराज जोशीले शाक्यभन्दा झण्डै २० हजार कम ४५ हजार २ सय ६९ मत ल्याउनुभयो । तर, उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत पाउनुभएको थियो ।

एमालेसँग तालमेल गरेर उपमेयरमा उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ४ सय ५४ मत मात्र पाउनुभएको थियो । माओवादीका सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत मात्र पाउनुभएको थियो । उपमेयरमा माओवादीले सुशीलाकुमारी पौडेलले १० हजार ४ सय ४८ मत पाउनुभयो ।

एमालेले १८ वटा वडामा अध्यक्ष जित्दा कांग्रेसले १४ वटा वडामा बाजी मारेको थियो । काठमाडौंमा दुई ठूला दल बाहेक तत्कालिन विवेकशील नेपालकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत पाएर तेस्रो हुनुभएको थियो । त्यस्तै साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ मत पाउनुभएको थियो ।

अहिलेको अवस्थाः
काठमाडौं महानगरपालिकामा यो पटक २० हजार ९ सय ३५ मतदाता थपिएका छन् । २०७४ मा काठमाडौंमा २ लाख ७९ हजार ३ सय ७ मतदाता रहेकामा अहिले ३ लाख २ सय ४२ पुगेको छ ।

काठमाडौंमा बलियो देखिएको एमाले अहिले विभाजित अवस्थामा छ । एमालेबाट छुट्एिको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी चुनावी मैदानमा होमिने तयारीमा छ । यो दलले सानो अंशमा एमालेको भोट काट्न सक्छ । अब पाँच दलले गठबन्धन गर्दा निर्वाचनमा गएका झण्डै २० हजार मतले जितेको एमालेलाई असहज हुने देखिन्छ ।

ललितपुरमा २०७४ स्थानीय तह निर्वाचनको परिणामः
२०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा कांग्रेसले जित हात पारेको थियो । कांग्रेसबाट मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत पाउँदै जित हात पार्नुभएको थियो । एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ३ सय १६ मत पाउँदै झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याउँदै तेस्रो हुनुभएको थियो । उपमेयरमा पनि कांग्रेसकी गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याउँदै स्वतन्त्र उम्मेदवार शोभा शाक्य पराजित हुनुभएको थियो, उहाँले १४ हजार २ सय ४० मत ल्याउनुभएको थियो । माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९ सय ७९ मत ल्याउँदै तेस्रो हुनुभयो ।

अहिलेको अवस्थाः
ललितपुर महागरपालिकामा २०७४ सालको निर्वाचनमा महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी जम्मा एक लाख १२ हजार ९२२ मतदता थिए । अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० पुगेका छन् ।

कांग्रेससँग झिनो मतले पराजित बनेको एमालेका लागि ललितपुरमा गठबन्धन हुँदा सुखद् छैन । कांग्रेस र माओवादी केन्द्र बलियो नै रहेका छन् । तर, एमाले विभाजित हुँदा केही मत काटिने उत्तिकै सम्भावना छ । जसका कारण एमाले यहाँ केही कमजोर नै देखिएको छ ।